साफ यू-२० च्याम्पियनसिपमा नेपालको लज्जास्पद हार, भारत ८-o ले विजयी

भुवनेश्वर/ साफ यू-२० च्याम्पियनसिपमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । घरेलु टोली भारतले नेपाललाई भुवनेश्वरको कालिङ्गा रंगशालामा ८-० को बिशाल अन्तरले पराजित गरेको हो।

पहिलो हाफमा एक गोल मात्र गरेको भारतले दोश्रो हाफमा ७ गोल गरेको थियो। भारतका लागि टाइसन सिंहले ३२ मिनेटमा पहिलो गोल गरेका थिए।

दोस्रो हाफमा आक्रामक बनेको भारतका लागि हिमांशुले ५०, ५२ र ७१ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। उनले ७१ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए।

यस्तै टाइसनले ६६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए। भारतका लागि छैटौं गोल टंकधरले ७८ मिनेटमा गरेका थिए। यस्तै गुरकिरात सिंहले अन्तिम मिनेटमा गोल गरेका थिए भने शुभो पलले इन्जुरी समयमा आठौं गोल गरेका थिए।

जितसँगै भारतले अन्तिम खेलअघि ६ अंक जोडेको छ। अन्तिम खेलअघि नेपालको पनि ६ अंक नै छ। शीर्ष स्थानको बंगलादेशको ९ अंक छ।अब अन्तिम खेलमा नेपालले बंगलादेश र भारतले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। अन्तिम खेल पर्सी मंगलबार हुनेछन्।

यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्स र दोस्रो खेलमा श्रीलंकालाई पराजित थियो। भारत भने पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई पराजित गरेको थियो। शीर्ष दुईमा रहेर फाइनलमा पुग्नका लागि बंगलादेशलाई बराबरी भए पुग्छ भने भारत र नेपालका लागि जित आवश्यक छ।

Comments