तटबन्ध भत्काएर सप्तकोसीको भँगालो बस्ती पस्यो, वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै


उदयपुर/ लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको बाँध फुटेको छ।  कोशी नदीको भंगालो बस्तीमा पसेको छ । 

उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै सिसौली टप्पु-चिलिया बस्ती पसेको हो ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बुधबार बिहान करिब ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर पुरानै धारमा फर्किएको हो। 

यो सँगै बेलका नगरपालिका- १, २, ३, ८, ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र सप्तरीको केही क्षेत्र डुबानमा परेको प्रजिअ यादवले जानकारी दिए।

चतरा पुलमुनिको ३ किलोमिटरको दुरीमा रहेको डुम्रिबोटेबाट नदीले तटबन्ध भत्काएको हो।

अविरल वर्षा भएसँगै नदी किनारका बस्तीलाई सुरक्षित स्थानमा सारिएको र बाँकी रहेका बस्तीमा पनि माईकिङ गरिएकाले कुनै पनि मानवीय क्षति नभएको घटनास्थलमै रहेका प्रमुख जिल्ला अधिकारी यादवले बताए।

सप्तकोसी नदी फुटेको स्थानमा जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरिरहेको प्रजिअ यादवले बताए।

Comments