भुवनेश्वर/ माल्दिभसलाई १-० ले पराजित गर्दै घरेलु टोली भारत भुवनेश्वरमा भइरहेको सो यू-२० च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । कालिंगा रंगशालमा भारतले माल्दिभ्समाथि दबाब बनाउँदै गोलका लागि आधा दर्जन भन्दा बढी अवसर बनाएपनि अन्तिम समयमा मात्र गोल गर्न सफल भएको थियो । भारतका लागि गुरकिरत सिंहले ९० औं मिनेटमा विजयी गोल गरे ।
मंगलबार साँझ भएको खेलमा माल्दिभ्सलाई हराएपछि भारत चार खेलबाट ९ अंक जोड्दै लिगचरणमा दोस्रो भएर फाइनल पुग्यो । चार खेलबाट ७ अंक जोडेको नेपाल भने तेस्रो हुँदै बाहिरियो ।
सुरुवाती दुई खेल जितेको नेपाल भारतसँगको खेलमा नेपाल ८-० को फराकिलो अन्तरले पराजित भएको थियो । यस्तै मंगलबारै भएको पहिलो खेलमा नेपालले बंगलादेशसँग १-१ को बराबरी खेल्दै अंक बाँडेपनि फाइनल पुग्ने सम्भावना कठिन बनेको थियो । लिग चरणमा अपराजित रहेको बंगलादेश चार खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइनल पुग्यो ।
Comments
Post a Comment